13/03/2026
न्युजिल्याण्डको Southland क्षेत्रमा मार्च १२ को बिहान भएको सवारी दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। दुर्घटना बिहान करिब ८:४० बजे Isla Bank नजिक, Otautau आसपास पर्ने फेयरफ्याक्स–आइला बैंक रोड र आइला बैंक–फ्लिन्ट्स बुश रोडको चोकमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएपछि प्रहरी, एम्बुलेन्स र फायर सेवा तुरुन्तै घटनास्थल पुगेका थिए। उद्धारका लागि व्यापक प्रयास गरिए पनि दुवै जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको थियो। घटनापछि दुर्घटनास्थलको अनुसन्धान गर्न सिरियस क्र्यास युनिट खटाइएको थियो र सो क्रममा सडक लामो समयसम्म बन्द गरिएको प्रहरीले जनाएको छ।
मृतकहरू साउथल्याण्डस्थित ब्लूबेरी फार्ममा काम गर्ने कर्मचारी रहेको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरू कामतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। यस दुर्घटनामा कार चलाइरहेका परिवारका सदस्य सामान्य चोटपटकसहित अस्पताल लगिएको थियो र पछि डिस्चार्ज गरिएको बताइएको छ।
उक्त दुर्घटनामा अर्को गाडीमा रहेका एक व्यक्ति गम्भीर घाइते भएका थिए भने कम्पनीका अर्का कर्मचारी पनि घाइते भएको जानकारी आएको छ। घटनापछि कम्पनीले आफ्ना दुई कर्मचारी गुमाउनु अत्यन्त दुःखद भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
यस घटनाले साउथल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई स्तब्ध बनाएको छ। स्थानीय नेपाली समुदायले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।